पछिल्लो दुई वर्षमा उल्लेख्य फड्को मार्दै आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा उक्लिएर नेपाली क्रिकेटले अन्तर्राष्‍ट्रियस्तरमै हालसम्मकै ठूलो फड्को मारेको छ। ठूला प्रतियोगितामा पाएको सफलताले अन्तर्राष्‍ट्रियस्तरमा नेपालको छवि माथी उठे पनि अन्तर्राष्‍ट्रिय प्रतियोगिताको तयारीको समय आउँदा एउटा इन्डोर प्रशिक्षण हल नभएर क्रिकेटर खाली हात बस्‍नुपर्ने समस्या छ।

यसपटक पनि सिंगापुरमा आगामी अगस्तमा आयोजना हुने इमर्जिङ टिम्स कपका लागि एक महिना बाँकी रहँदा नेपालको तयारी अन्योलमा छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारदेखि पहिलो चरणको प्रशिक्षण सुरु गर्न २२ सदस्यीय खेलाडी छनोट गरेको छ, तर वर्षाको मौसमका कारण प्रशिक्षणले रफ्तार लिने छाँट छैन। विगतमा जस्तै योपटक पनि नेपाली टोलीको प्रशिक्षण जिमसेन्टरमै सीमित हुने सम्भावना छ। बर्मुडामा सम्पन्न आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीन जितेर नेपाललाई विश्वकप छनोटसम्म पुर्‍याएका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का इन्डोर हलको अभावमा ठूलो समस्या भइरहेको बताउँछन्।
‘दुई महिना भयो, हामी खाली हात बसेको, प्रशिक्षण सुरु भए पनि इन्डोर हलको अभावमा जिम अनि फिटनेसमा सीमित हुनुको विकल्प छैन’, कप्‍तान खड्काले भने। प्रशिक्षणको जिम्मेवारी लिएका क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा पनि मौसममै भर परेर तयारीको योजना गरिरहेका छन्। ‘मौसमले कस्तो साथ दिन्छ, त्यसमा प्रशिक्षण भर पर्छ, पानी परिरह्‍यो भने त फिजिकल फिटनेसको मात्र प्रशिक्षण हुन्छ’, टमाटाले बताए। नेपाली क्रिकेटमा तयारी गर्दाको यो पीडा अहिलेको होइन। क्रिकेटमा इन्डोर हलको समस्या अहिलेको मात्र होइन। यो समस्या क्यानलाई ज्ञात नभएको पनि होइन। तैपनि प्रदर्शनको स्तर माथि उठे पनि नेपालको तयारीमा आउने समस्यामा कुनै परिवर्तन आएको छैन। क्यानसँग इच्छाशक्ति नभएरै खेलाडीहरूले असुविधा भोग्नुपरेको तर्क खड्काको छ। ‘इन्डोर हल बन्न नसक्ने होइन, तर व्यवस्थापन तहमा बस्‍ने पदाधिकारीमा इच्छाशक्ति नभएर यो समस्या रहिरहेको हो’, खड्काले आक्रोश पोखे। इन्डोर हलको अभावमा वर्षायामको चार महिना जेठदेखि भदौ महिनासम्म प्रशिक्षण शून्य हुने गर्दछ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिका पनि प्राय: यही समयमा पर्ने गर्दछ। यसले उमेर समूहदेखि सिनियर राष्ट्रिय टोलीको प्रशिक्षणलाई असर पार्ने गरेको छ। यसपटक अगस्तमा इमर्जिङ नेसन्स कप, नोभेम्बरमा आईसीसी टीट्वान्टी विश्वकप छनोट चरण र सन् २०१४ को सुरुआतमा आईसीसी एकदिवसीय विश्वकप छनोट चरण तीनवटा एकपछि अर्को महत्त्वपूर्ण प्रतियोगिता नेपालले खेल्दै छ। जसका लागि नियमित र लामो समयको प्रशिक्षणको विकल्प छैन। चाहे त्यो टीट्वान्टी होस् वा एकदिवसीय पहिलोपटक विश्वकप खेल्ने सपना पूरा गर्न नेपाललाई सानोतिनो तयारीले पुग्दैन। दुईवटै विश्वकप छनोट चरणका लागि एउटा राम्रो अभ्यासको रूपमा नेपालले इमर्जिङ नेसन्स कप प्रतियोगिता पाएको छ। जहाँ नेपालले एसियाका टेस्ट राष्ट्रहरू भारत र पाकिस्तानसँग पहिलो पटक भिड्दै छ। साथमा टीट्वान्टी विश्वकप छनोट चरणको एक प्रमुख प्रतिद्वन्द्वी अफगानिस्तानसँग पनि नेपालले प्रतिस्पर्धा गर्दै छ। आफूभन्दा उत्कृष्ट टोलीसँगको प्रतिस्पर्धा भएकाले इमर्जिङ नेसन्स कप नेपालको विश्वकप यात्राका लागि एउटा बलियो आधार भन्ने पक्का छ, तर फितलो तयारीले गर्दा नेपालले आफ्नो असली स्तर देखाउन पनि नसक्ने सम्भावना बढेर भएको छ।
इमर्जिङ नेसन्स कपका लागि आगामी अगस्त १ तारिखदेखि श्रीलंकामा दुई साता प्रशिक्षण गरेर नेपाल सिंगापुर लाग्दै छ। कप्तान खड्काले भने ठूलो प्रतियोगिताका लागि यो अभ्यास पर्याप्त नहुने बताउँछन्। ‘दुई साताको तयारीले हामी भारत, पाकिस्तान, अफगानिस्तान जस्ता टोलीसँग भिड्ने जाने अनि त्यसबाट के आश गर्ने र के सिक्‍ने?’, खड्काले उल्टै प्रतिप्रश्न गरे। प्रशिक्षक पुबुदु दासानायके क्यानडामै रहे पनि उनले खेलाडीलाई खाली हात बस्न दिएका छैनन्। प्रत्येक खेलाडीलाई दासानायकले फिजिकल फिटनेसका लागि छुट्टाछुट्टै गृहकार्य दिएका छन्। दासानायके स्वयं आगामी साउन ७ गते नेपाल फर्कि एर आफूले दिएको दैनिक निर्देशनलाई खेलाडीले पछ्याएको वा नपछ्याएको परीक्षण गर्नेछन्।
यसैकारण पनि यसपटक कम्तीमा राष्ट्रिय टोलीका खेलाडीलाई फिटनेसको समस्या रहनेछैन। त्यसैले अहिले बढीभन्दा बढी नेट अभ्यास र फिल्डिङ अभ्यास नै नेपाली टोलीलाई खट्किएको कुरा हो। त्यसका लागि हरेक वर्ष जस्तै यसपटक पनि दिनदिनको पानी बाधक बन्ने संकेत राजधानीको मौसमले गरेको छ। यसै पनि वर्षाकै कारण प्रशिक्षण पनि क्यानले केही दिन ढिलो सुरुआत गरेको हो। तयारी प्रशिक्षणमा नेपालको यो समस्या अहिलेको होइन, वर्षौंको हो, तर यसपटक जस्ता असर सायद यसले कहिल्यै नपार्ला।
विश्वकपको सँघारमा पुगेर नेपाली क्रिकेट टोलीले देखाएको सपना एउटा इन्डोर हलको अभावमा त्यत्तिकै तुहिने हो कि भन्ने शंका अहिले उत्पन्न भएको छ। ‘हाम्रा लागि अबका सबै प्रतियोगिता कठिन र महत्त्वपूर्ण छ, तर नियमित प्रशिक्षण गर्ने ठाउँ नभएपछि खेलाडीले के गर्ने’, खड्काले भने। सन् २०१३ को सुरूवातमै मूलपानीमा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा इन्डोर हल बन्ने समाचारले क्रिकेटरमा उत्साह थपेको थियो। गत फेब्रुअरीमा एनआरएन युएईले मूलपानी वर्षाको सिजनपूर्व नै इन्डोर हल बनाउने सम्झौता क्यानसँग गरेको थियो। पैसा जुटाउने काममै अलमलिएको जनाएको एनआरएन युएईले कामको सुरुआत समेत गर्न सकेको छैन। एनआरएन युएईले करिब ६२ लाख रुपैयाँमा इन्डोर हल तयार पार्ने जिम्मा लिएको थियो। उक्त रकममा बन्ने इन्डोर हल विशेष त हुने थिएन, सामान्य स्तरको थियो, तर यदि त्यो बनेको भए क्रिकेटर खाली हात बस्नुपर्ने थिएन। वर्षौं पुरानो उही समस्याका लागि एनआरएन युएईको मात्र मुख ताक्‍नु क्यानका लागि अहिले जस पाउने कार्य नहुन सक्छ। यसै पनि नेपालले यसवर्ष बर्मुडामा डिभिजन तीन क्रिकेट जितेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मोटो रकम क्रिकेट विकासमा लागि पाउने पक्‍का भइसकेको छ। साथमा क्रिकेटमा पाएको ऐतिहासिक सफलतामा सरकारदेखि निजी व्यापारी संघ संस्थाले क्रिकेटमा लगानीका लागि सकारात्मक सोच बनाएको अवस्था अहिले छ। सम्बन्धित निकायबाट समयमा कुनै योजनाको थालनी नहुँदा इन्डोर हलको समस्या जस्ताको तस्तै रहने सम्भावना छ।
डिभिजन दुईमा पुगेर नेपालले क्रिकेटका अर्को एउटा स्तर र चुनौती दुवै पाएको छ। प्रशिक्षक दासानायके र कप्‍तान खड्काले नेपाली क्रिकेटका लागि अबका दिन अझै चुनौतीपूर्ण हुने कुरा बारम्बारको भनाइमा सुगा रटाएझैं रटाएका कारण हरेक क्रिकेट समर्थक र शुभचिन्तकलाई पनि यो कुरा कण्ठस्थ भइसकेको छ। नियमित प्रशिक्षण क्रिकेट खेल सुधार्ने पहिलो विकल्प हो, यो कुरा क्यानले व्यवहारमा उतार्न अगाडि नबढ्दा क्रिकेटको फितलो व्यवस्थापन फेरि उदांगो भएको छ। यस्तै उदासीन चाला रहिरह्‍यो भने नेपाल डिभिजन दुईमा पुगेर फेरि पाँचमा फर्कन धेरै बेर लाग्दैन। किनभने बलियो आधार नभई खेलाडी मात्रको परिश्रमले पाएको सफलता धेरै दिन नटिक्‍न सक्छ।

(साभार : अन्नापोष्ट)