No comments
Posted at 8:38 PM |  by
Unknown
for complete info of Nepali Cricket. . . .
पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार सफलता पाइरहेको छ । तर, खेलाडीले तयारीका लागि सुविधा सम्पन्न पूर्वाधारको अभाव खेपिरहेका छन् । ‘इन्डोर ट्रेनिङ हल’को अभावका कारण खेलाडीले नियमित अभ्याससमेत गर्न पाउँदैनन् । सरकारले आर्थिक वर्ष ०७०/७१ को बजेटको तयारी गरिरहँदा नेपाली क्रिकेट खेलाडीले केही राहत महसुस गर्नेछन् ।
क्रिकेटलाई उच्च प्राथमिकतामा राखेर सरकारले यसपटकको खेलकुद बजेट निर्माण गरिरहेको छ । खेलकुद मन्त्रालयले आर्थिक वर्ष ०७०/७१ को बजेटमा क्रिकेटको भौतिक पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि भारी रकम विनियोजन गर्ने तयारी गरेको छ । खेलकुद मन्त्रालयका सचिव हरि नेपालले आगामी बजेटमा मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण तथा निर्माणाधीन मैदानका लागि थप बजेट विनियोजनको प्रस्ताव गरिएको मंगलबार नयाँ पत्रिकालाई जानकारी दिएका छन् । ‘हामीले आगामी वर्ष ०७०/७१ को बजेटलाई क्रिकेट र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेका छौँ,’ मन्त्रालयका सचिव नेपालले भने, ‘हामीले योजना आयोग र अर्थमा प्रस्ताव लगिसकेका छौँ, असार मसान्तभित्र बजेट स्विकृत हुनेछ, साउनबाटै हामी योजना बनाउन सुरु गर्नेछौँ ।’ सचिव नेपालका अनुसार प्रस्तावित बजेटमा सरकारले क्रिकेट स्टेडियम निर्माणका लागि साढे तीन करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ । यसै वर्षभित्र निर्माण पूरा गर्ने उदेश्यका साथ मुलपानीकै निर्माणाधिन मैदानका लागि थप ५० लाख विनियोजन गर्न तयारी भएको सचिव नेपालले बताए । खेलकुद मन्त्रालयका सचिव नेपालले यस वर्षको बजेट पारित हुनेमा आफू बढी नै आशावादी रहेको बताए । उनले भने, ‘हामीले सबै पक्षको परामर्श र सल्लाहअनुसार यो बजेट प्रस्ताव गरेका हौँ, हाम्रो प्रस्तावमा योजना आयोग, अर्थ, सरकार सबै पक्ष सकारात्मक छन्, त्यसैले बजेट पारित हुनेछ ।’ उनले स्टेडियम इन्डोर प्राक्टिस हल, चेन्जिङ रुमलगायत सम्पूर्ण सुविधायुक्त बन्ने भए पनि विस्तृत योजना बजेट स्विकृत भएपछि मात्रै परिषद् र नेपाल क्रिकेट संघ (क्यान)ले बनाउने जानकारी दिए । निर्माणाधीन मैदानकै छेउमा बन्ने इस्टेडियमलाई एकेडेमीका रूपमा अघि बढाइने उनले बताए । निर्माणाधीन मैदानमा थप बजेट आएपछि प्याराफिट निर्माण, रिटेनिङ वाल बनाइने, मैदान सम्याइनेलगायत काम हुनेछ । खेलकुद मन्त्रालयका सचिव नेपालले नेपाली क्रिकेट टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि समेत ४० लाख बजेट छुटयाइने जानकारी दिए । ‘केही समयदेखि खेलकुद परिषद्ले पनि प्राय: खेलको राष्ट्रिय टोली बनाएर बन्द प्रशिक्षण गराइरहेको छ, क्रिकेटलाई पनि टी–२० र एकदिवसीय विश्वकप छनोटको तयारीका लागि ४० लाख रुपैयाँ छुटयाउने प्रस्ताव गरेका छौँ,’ उनले भने ।
सचिव नेपालले परिषद् र क्यानले सहमतिमा तयारीका लागि सो रकम खर्च गर्ने जानकारी दिए । क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा लगातार प्राप्त गरिरहेको सफलताले सरकार लगानी बढाउन प्रेरित रहेको सचिव नेपालले बताए । ‘पछिल्लो समय क्रिकेटले जुन सफलता हात पार्यो, त्यो एकदमै उल्लेखनीय छ, हामीले भौतिक पूर्वाधारको विकास गर्दै क्रिकेटको स्तर उकास्न सके, अझ राम्रो सफलता हासिल गर्न सक्छौँ,’ उनले भने, ‘त्यसैले यसपटक हामीले क्रिकेटलाई मध्यनजर गरी लगानी बढाउने योजना बनाएका हौँ ।’ सचिव नेपालले यो वर्ष खेलकुदको शीर्षकमा परिषद्मा जाने एक अर्बमध्ये ५० करोड भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने जनाए । उनका अनुसार कभर्डहल नभएका १८ जिल्लामा आगामी आर्थिक वर्षमा कभर्डहल निर्माण गरिनेछ । यसै वर्ष पूर्वाञ्चलमा आयोजना हुने तय भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि धरानमा भौतिक पूर्वाधार निर्माणमा जोड दिने जनाइएको छ । मूलपानी मैदानलाई निरन्तर सहयोग क्यानका तत्कालीन अध्यक्ष जयकुमारनाथ शाह र परिषद् सदस्यसचिव किशोरबहादुर सिंहले ‘ड्रिम प्रोजेक्ट’का रूपमा झन्डै एक दशकअघि मूलपानीको मैदान निर्माण कार्य सुरु गरेका थिए । उक्त मैदान अझै पूर्ण निर्माण भइसकेको छैन । मैदान सम्याउने र एक प्रशासनिक भवनको निर्माण कार्य भइरहेको छ । यो मैदानलाई पछिल्लो तीन वर्षयता सरकारबाट पनि निरन्तर सहयोग रहँदै आएको छ । खेलकुद मन्त्रालयबाट प्रस्तावित बजेट पारित भए, यसपटक पनि उक्त मैदानले सरकारी सहयोग निरन्तर पाउनेछ । सरकारले यसअघि आर्थिक वर्ष ०६६/६७ मा मैदान निर्माणका लागि एक करोड आर्थिक सहयोग उपलब्ध गराएको थियो । यस्तै आर्थिक वर्ष ०६७/६८ मा तीन करोड रुपैयाँ सहयोग प्राप्त गरेको थियो । ०६८/०६९ र ०६९/७० मा पनि समान ३०–३० लाख बजेट विनियोजन गरिएको थियो । यसअनुसार उक्त मैदान निर्माणका लागि मात्रै सरकारले अहिलेसम्म चार करोड ६० लाख रकम खर्च गरिसकेको छ ।
(साभार : नयाँपत्रिका)
|